परिचय
हाल म विस्कन्सिन, अमेरिका निवासी व्यवस्थापक, व्यवसायी, विश्वविद्यालय प्राध्यापक तथा समाजसेवी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रिय अभियन्ता हुँ। सन् २०१० देखि एनआरएनए अभियानमा सक्रिय रहँदै एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिका, विस्कन्सिन च्याप्टरको संस्थापक अध्यक्ष, अमेरिकाको उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेको थिए । हालै सम्पन्न एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को एकता महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएको छु।
मेरो जन्म चितवनमा भए पनि पुर्ख्यौली थलो स्याङ्जा हो। तसर्थ, ग्रामिण, सहरी तथा विदेशी परिवेशलाई नजिकबाट बुझेको छु र सकारात्मक सोच र व्यावहारिक दृष्टिकोणका साथ जिम्मेवारी पूरा गर्ने प्रयास गर्दै आएको छु। शैक्षिक पृष्ठभूमिमा मैले आईएसी फरेस्टी, बि.कम., एमबीए, एमएड. सम्मको अध्ययन गरेको छु। एलएल.बि. अध्ययन गर्दागर्दै त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने अवसर पाएँ। सन् २००३ मा डिभी कार्यक्रममार्फत अमेरिका आएँ। त्यसअघि कालिकोटको सत्यदेवी मावि जुबिथा स्कुलमा प्रधानाध्यापक, जितपुर क्याम्पस हुँदै मिनभवन क्याम्पसमा प्राध्यापन गरें। हाल म बैङ्किङ्ग क्षेत्रको जोखिम र कार्यक्षमता सम्बन्धी विषयमा पीएचडी (PhD) अध्ययनरत छु। एनआरएनए अमेरिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्दा ऐतिहासिक काम गर्ने अवसर पाएँ। सबैभन्दा ठूलो सदस्य संख्या भएको एनसीसी अमेरिका बनाउनुका साथै एनआरएनए अमेरिकाको आफ्नै कार्यालय भवन स्थापना समितिको संयोजकको रुपमा जिम्मेवारी सम्हाल्दै झोलामा रहेको संस्था आफ्नै भवनमा पुर्याउन सफल भएँ। कोभिड महामारीको कठिन समयमा मैले पहल गर्दै अमेरिकाबाट करिब ३ करोड ६० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाएको थिएँ। मेरो नेतृत्व क्षमता, सेवा भाव र प्रगतिशील सोचको मुल्याङ्कन एनआरएनए तथा नेपाली समाजमा गरिँदै आएको छ। आगामी दिनमा पनि समाज र मुलुकको हितका लागि सक्रिय भएर लागिरहने प्रण गर्दछु।